हिमाली जिल्ला हुम्लामा व्यापक हिमपात
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि भारी हिमपात भइरहेको छ । । हिमपातसँगै बढेको चिसोका कारण जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।
चिसोका कारण कठ्याङ्ग्रिने डरले मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । गत महिना दुई पटकसम्म परेको हिउँ नपग्लिँदै हुम्लामा फेरि हिमपात भएको हो । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट हुने सम्पूर्ण हवाई उडान अवरुद्ध भएको छ । एक्कासि चिसो बढेपछि सरकारी कार्यालय र शिक्षण संस्थासमेत खुलेका छैनन् ।
सदरमुकामा सिमिकोटमा ६ इन्च बाक्लो हिउँ जमेको छ भने तापक्रम माइनसमा झरेको छ । नेपाल टेलिकमले एनजीएन स्विचिङ प्राणालीबाट वितरण गरेको टेलिफोन सेवासमेत प्रभावित भएको छ । यता पश्चिमी वायुका कारण उपत्यकासहित देशको अधिकांश स्थानको आकाश आज पनि बादलले ढाकेको छ ।
काठमाडौँसहित देशको मध्य भागमा आज साँझसम्ममा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि हिजो साँझ मुलुकको मध्य भागमा हल्का वर्षा भएको थियो । आज बिहान साढे ७ बजे काठमाडौँको न्यूनतम तापक्रम १० डिग्रिसेल्सियस मापन गरिएको छ । अझै केही दिन मौसममा सुधार नआउने महाशाखाले जनाएको छ ।
Short URL: http://www.abctv.com.np/?p=197